पहाडको अर्थ खोज्दै
-विश्व सिग्देल
मसँग प्रत्येक पानाहरू सुन्दर कविताले भरिएका ‘पानाहरू खाली छन्’ नामको युयुत्सु आर.डी शर्माको कविता सङ्ग्रह अगाडि छ । हामी मानिससँग हिँड्दा हिँड्दै कहिल्यै नसकिने बाटो हुन्छ । खाँदा–खाँदै कहिल्यै नसकिने खाने क्रम हुन्छ । लाउँदा–लाउँदै नसकिने लुगाहरूको फेहरिस्त, गाउँदा–गाउँदै नसकिने जीवन गीत अनि लेख्दा–लेख्दै नसकिने खाली पानाहरूको थाक हुन्छ । अर्थपूर्ण सङ्गति खोज्दा खोज्दै ती पानाहरू खाली नै रहन पुग्छन् । एउटा सग्लो दर्शन ‘कथ्य कायाकल्प’का अभियन्तामध्येका एक युयुत्सु यसरी कवितामा व्यक्त गर्छन् । वर्तमानलाई उनी कठिन घडी नभनेरै ती कठिनताहरू आफ्ना कविताहरूमा पस्कन्छन् । हामीले भोगेका आरोह–अवरोह अनि हाम्रा भनाइ र गराइको बेमेलले गोडमेल गरेका भग्न मान्यताहरू पस्कन्छन् । कविता साधनामा दिन–रात ध्यानमग्न एउटा मिलरेपा फुत्त निस्कन्छ तार्के घ्याङ तलको ‘मिलरेपा गुफा’बाट र छरिन्छ हावाले देबदारका हाँगामा अडिएको हिउँ भुइँ झारेर छरेजस्तै ‘पानाहरू खाली छन्’ भित्र ।
सम्झन पुग्छु, असिन पसिन भएर सेर्माथानको उकालो उक्लिरहँदाको त्यो पहाडी बाटो, त्यहाँको रोगनविनाको जनजीवन, त्यहाँका रूख, पात पतिङ्गर, चरा चुरुङ्गीको कलरव अनि खस्रुको काँडे पातजस्तै विभिन्न दिशामा छिरलिएका युयुत्सुका जिज्ञासा ! छेवैको हिमाली खोलोजस्तै अविरल उनको त्यस भूभागसँग टम्म मिसिने इच्छाले उब्जाएका प्रश्नहरूको बहाब । त्यस समय मेरो ज्यान अलिक छरितो थियो । म अगाडि अगाडि थिएँ । उनको प्रश्नले मलाई पछाडि पछाडि तान्थ्यो र हामी दुबैको गति कम हुन्थ्यो । उनको जिज्ञासा र जिज्ञासाले उनीभित्र उम्रिएको बृहत् ज्ञान हामी उनका कविताभरि देख्न सक्छौँ । स्थानीय बिम्ब र रैथाने प्रतीकले उनका कविता अलग्गै बन्न पुगेका छन् । उनी खच्चरको पुच्छर निमोठ्दै अन्नपूर्ण सर्किट जाउन् वा न्यूयोर्क । जुन ठाउँमा उनी पुग्छन् । ती ठाउँहरूका ढुकढुकी उनी छाम्न पुग्छन् ।
कवि युयुत्सु यस अर्थमा पनि मलाई प्रिय लाग्छन् कि उनी आफ्नो कवि कर्मका कारण आफूलाई हीन मानेर ‘म उपन्यास लेख्दै छु’ भन्नुमा गर्व गर्ने कविहरूको जमातभित्र पर्दैनन् । नौवटा काव्यकृति र कविताको पत्रिका ‘प्रतीक’ले उनको काव्य साधनालाई उजागर गर्छ । उनी हाम्रा लवजहरूलाई तात्तातै उठाउँछन् र तिनीहरूसँग कुराकानी गर्न थाल्छन् । कविको आरनमा तब चल्छन् खलाँती, घन, छिना र अन्त्यमा साँध लगाएपछि ती कविता बन्छन् । लक्ष्मी लेकाली हुन् वा गोपालप्रसाद रिमाल युयुत्सुको आरनमा पाइन चढेपछि नयाँ बिम्ब र प्रतीकहरूले उनीहरूका कथा बोल्छन्–व्यथा बोल्छन् ।
पहाडको अर्थ खोज्ने जमर्कोमा आफैँ पहाड हुन रमाइरहेका देखिन्छन् युयुत्सु । हिमालको अर्थ खोज्न अग्लिने र पग्लिने लगातार भइरहन्छन् उनी । खच्चरहरूका खुरहरूबाट उडेको धुलो र फुर्वाको शेर्पा भान्छाघरबाट पुत्ताइरहेको धुवाँमा रङमङिएको तस्वीर उनी उन्दछन् आफ्ना कविताहरूमा । शेर्पिनी आमाको आतिथ्यको सबभन्दा गहिरो निद्रा सुतेपछि येशुको क्रस ओसारीरहेको बुढी हजुरआमाको कमजोर ढाड उनी अनुभव गर्न पुग्छन् । शिखरको उर्जाले बोकिरहेको खोँचहरूको अवसाद लुक्दैनन् उनका कवि मस्तिष्कबाट । उनी लुङ्दर भैदिन्छन् – फर्फराउँछन्, उनी देउरालीका ढुङ्गा भैदिन्छन् – कसैको हृदयले चढाउँदै जान्छन् – थिचिन्छन्, उनी हिमाली खोला भैदिन्छन् – काँचो गीत प्रकृतिको गाई हिँड्छन् । तिब्बती लामाको मन्त्रको कर्णप्रिय ध्वनीजस्तै उनका कविता बिम्ब र प्रतीकहरूमा उनीन्छन् र प्रस्तुत हुन्छन् । उनी कतै बोधगम्य कतै हाम्रो मनजस्तै अबोधगम्य बन्छन् ।
‘पानाहरू खाली छन्’ सङ्ग्रहभित्र भाग एक, दुई, तीन र चार गरी भिन्न कालक्रममा लेखिएका कविताहरू छन् । ( यी कविता पढ्दा मैले यस्तो मानेँ । हुन सक्छ कविले कविताले बोकेका ओजका/ विषयवस्तुका आधारमा छुट्याएका हुन् । भाग एकमा उनले पहाडको अर्थ उपशीर्षक दिँदै १६ वटा कविता पस्किएका छन् । कविले यी कविताहरूमा अग्रज नेपाली कविलाई नमन गरेका छन्, जसले संघर्षको एउटा गोरेटो कोरेका थिए । विश्वले नेपाललाई हेर्ने आँखामा बुद्ध र लुम्बिनी कसरी अङ्कित हुन्छ र तिनीहरूको वर्तमान मूल्य विघटनको कथा उनले यी कविताहरूमा उनेका छन् । क्षय हुँदै गरेको संस्कृति, खिया लाग्दै गरेको संस्कार र वर्तमानका धपेडीहरूले गुम्स्याएका दुर्घटित यौनको पाटोमा उनले नेपाली समाजको चित्रण गरेका छन् । जसमा गरिबी, भोक र करुणाको शृङ्खला अटुट देखिन्छ । फ्रायडेली यौन बिम्बलाई खेलाउँदै हाम्रो मगजको फोहरलाई प्रकाश पार्ने काम केही कविताहरूमा भएको देखिन्छ भने केही कवितामा पहाडको अर्थ पर्गेल्ने कविका शब्द सामर्थ्यले टक्क रोकिदिन्छ यसरी कि आमाका सपनाहरूमा आमाहरू यथार्थसँग पौँठाजोरी खेल्दै सपना देख्न हौस्याउँछन् छोराहरूलाई ।
आमाका शब्दहरू
मेरो पिरो स्तब्ध मुटुको सतहमा
बिस्तारै खस्छन्
खच्चरहरू उपशीर्षकमा उनका आठवटा कविताहरू रहेका छन् । वर्षेनी हजारौँ पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु रहेको अन्नपूर्ण सर्किटको जीवन्त वर्णन यी कविताहरूमा पाइन्छ । खच्चरका घाँटीको घण्टीले पहिल्याउने बाटो पछ्याउँदै कवि उँभो लाग्छन् । नीला नदीहरू, ढुङ्गाका डङ्गुर मानौँ एक–एक बुद्धका वाणीहरू कुँदिएका अक्षरहरू छरिएजस्तै, हावामा फर्फराइरहने लुङ्दरहरू, कुइराले छोपेको हिमाली भेगका झुप्राहरू र त्यहाँका जीवन उनी टपक्क टिप्छन् । आधुनिकता र विश्वव्यापीकरणको दाह्रा र नङ्ग्राले गाँज्दै गएको हाम्रो पहाडको चित्रको कोलाज उनी पस्कन्छन् । तेस्रो भागमा फुर्वाको यार्लिङ नाम दिएर उनले लाङटाङ–गोसाईँकुण्डको पदयात्राका विविध रङहरूलाई समेटेका छन् । हिमाली संस्कृति, जनजीवन र मिथकलाई उनले आफ्ना कविताहरूमा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । कलात्मक प्रस्तुति र बिम्बात्मक भाषले काव्य रस हिमाली झरना झैँ उनका यी कवितामा झर्छन् । खच्चरका घाँटीका घण्टीले पहिल्याएको गोरेटो छिचोल्दै कवि हिमाल पढ्छन्, पहाड पढ्छन् र पढ्छन् टाकुराहरूले छोपेको उपत्यका ।
उँघिरहेको उपत्यका
तारै ताराले भरिएका आकासहरूले चिनेका छन्
तिनका गोप्य पसिनाका चस्स दुखाइहरू
माने चिन्ने हातहरू र धुरिबलो उठाउने जब्बर काँधमा युगौँदेखि थामेर येशुको क्रस उँभो उक्लिरहेकी बुढी हजुरआमासँग कविको जम्काभेट हुन्छ ।
चामलका
दुईटा बोरा बोकिएको
बुढी हजुरआमाको कमजोर ढाडमाथि
हिँडिरहेको एउटा घाइते गोव्रे किरा !
वर्षको आधाआधी कविता पाठ, लेखन कार्यशाला आदिका लागि विदेशमै बिताउने युयुत्सुले सङ्ग्रहको भाग चारमा ह्विटम्यानकी छोरी उपशीर्षक दिएर एघारवटा कविता पस्केका छन् । उनका यी कविताहरूमा पश्चिम समाजको चित्र पाइन्छन् तर त्यो पश्चिमा समाजलाई कवि पूर्वीय बिम्ब, प्रतीक र मिथकहरूको साहारा लिई चित्रण गर्छन् । हाम्रो भन्दा बिल्कुल भिन्न परिवेशलाई पनि कविले लेखकका आँखाले नापजोख गरिहाल्न भ्याउँछन् र जीवन्त प्रस्तुत गर्छन् । पश्चिमाहरूको खुल्ला सोच, अग्ला भवन, रङ्गीचङ्गी बजारको मात्र कवि कुरा गर्दैनन्, ती ठाउँमा भूमिगत मार्ग र ट्युब स्टेसनमा रहेका मागेर गुजारा चलाउनेका कथा पनि उनी बिर्सँदैनन् । मान्छेका पीडाका रूप मात्र फरक तर पीडा, व्यथाको फेहरिस्त टिप्न उनी सफल देखिन्छन् । यस भाग चारमा पश्चिमा दार्शनिक फ्रायड अलिक अधिक हावी भएको प्रतीत हुन्छ । उदाक्त र फुक्काफल मात्र छैनन् ‘ह्वीटम्यानकी छोरी’ का दैनन्दिनी । त्यहाँभित्र कैयन वर्षको कठोर समयका फोसिलहरू पनि छन् ।
किन किन यो नगर देखेर
म ती प्राचीन घाटहरू सम्झन्छु
जहाँ महाभारतमा लडेका
योद्धाहरूका जिउका ससाना टुक्राहरू
सोहोरिएका थिए एउटा ठूलो थुप्रोमा
र बालिएको थियो
एक मुष्ट !
कवि मित्र आर.के अदिप्त गिरीको सुन्दर आवरण तस्वीरमा सजिएको ‘पानाहरू खाली छन्’ कवितासङ्ग्रह युयुत्सु आर.डी शर्माको पछिल्लो कविता कृति हो, जसले हिमाली संस्कृति, नेपालका विविध जातजातिको मिथकदेखि लिएर पश्चिमा संस्कृति र सभ्यताको उकाली ओरालीलाई सम्बोधन गरेको छ । काव्यात्मक भाषा, छरिता पद, पदावली मौलिक बिम्ब र प्रतीकका कारण भुराहारुले पिप्लामेट मुखमा राख्दा निरन्तर रसाएझैँ काव्यको आनन्द लिन विशिष्ट पाठकहरू सफल हुन्छन् । यो लेखकको शक्ति हो भने सामान्य पाठकहरूलाई अर्थबोध गर्न यिनै कारणले रोक्छन् । सुन्दर कविताका लागि उपयुक्त मानिने भएता पनि सामान्य पाठकले वाक्यात्मक संरचनाका अवयव खुट्याउन हम्मे पर्ने भएकाले यस सङ्ग्रहका कविताहरू क्लिष्ट मान्ने देखिन्छ ।
कवितामा निरन्तर कलम चलाउँदै रातो दिन कविताको चिन्तन मननमा समय खर्चने युयुत्सुको ‘पानाहरू खाली छन्’ नेपाली साहित्यलाई एउटा गतिलो उपहार मान्न सकिन्छ । गुलाफ मन पराउनेहरूले गुलाफ खोज्नु स्वभाविक हो तर गुलाफ बाहेकका फूललाई फूल नै होइन भन्ने परिपाटी नेपाली साहित्यमा झाँगिएको छ । यो आग्रह–पूर्वाग्रहलाई त्यागेर नेपाली साहित्यलाई पढ्नु र पर्गेल्नु आजको आवश्यकता हो । युयुत्सु आर.डी शर्माको ‘पानाहरू खाली छन्’ यस्तै स्वस्थ समीक्षाको लायक कृति हो
No comments:
Post a Comment